खेतबारीमा रमाउँदै जुम्लाका दीपक, वार्षिक पाँच लाख आम्दानी

कार्तिक ११, २०८१ admin
खेतबारीमा रमाउँदै जुम्लाका दीपक, वार्षिक पाँच लाख आम्दानी

जुम्ला, ११ कात्तिकः

खेतबारीलाई प्रमुख कार्यस्थल बनाउनुभएका तिला गाउँपालिका–८ का २२ वर्षीय दीपक रावतले गाउँमा अग्रणी किसानको परिचयमात्र बनाउनुभएको छैन लोभलाग्दो आम्दानी पनि गर्दै आउनुभएको छ । जिल्लामा उहाँ उदाहरणीय उद्यमीका रूपमा चिनिनु भएको छ । उद्यमी रावतले व्यावसायिक ढङ्गले फलफूल नर्सरी मात्र सञ्चालन गर्नुभएको छैन स्याउ, ओखर र बारीमा मौसमी सागसब्जी पनि फलाउनुभएको छ । उहाँको फार्ममा ओखर र स्याउका बिरुवासँगै अलिपर बोटमा लटरम्म ओखर र स्याउ फल्छन् । यस वर्ष उहाँले स्याउ बेचेर रु ४० हजार कमाएको बताउनुभयो ।

विरुवा बेचेर अधिक लाभ हुने बताउँदै उहाँले स्याउका बिरुवा बेचेर बर्सेनि तीन लाखभन्दा बढी आम्दानी गर्दै आएको जानकारी दिनुभयो । कृषिकर्ममा केन्द्रित उहाँले हाल दुई सयवटा ओखरका बिरुवा हुर्काउनुभएको छ । “कर्णाली प्रदेश सरकारको बेरोजगार कृषि प्राविधिक छनोट अनुदान कार्यक्रमबाट छनोट भई कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदानमा रु तीन लाख लगानीमा तीन हेक्टर जग्गामा स्याउ, ओखरको नर्सरीसँगै सागसब्जी र फलफुलखेतीबाट वार्षिक रु तीनदेखि पाँच लाखसम्मको आम्दानी हुने गरेको छ,” भविष्यमा स्याउ ओखर तथा फुलफूलखेती विस्तार गर्ने लक्ष्यका साथ खेती विस्तारमा जुटेको जानकारी दिँदै उहाँले भन्नुभयो ।

वार्षिक रु १० लाख कमाउने लक्ष्यका साथ बोटबिरुवा बाढाएको उहाँले बताउनुभयो । अठार महिना कनिष्ठ प्राविधिक सहायक (जेटिए) का रूपमा काम गर्नुभएका तथा वनस्पति र बाली विज्ञान (आइएसएजी) पनि अध्ययन गर्नुभएका उहाँलाई कृषि क्षेत्रमा काम गर्न असहज छैंन । स्वदेशमा व्यावसायिक रूपमा काम गर्नसके अर्काको देशमा गएर पसिना बगाउनु नपर्ने उद्यमी रावतको बुझाइ छ । आफ्नो कृषि फार्मका उत्पादन स्थानीय बजार रारासेरी, नाग्म कुडारी र खलङ्गा बजारसम्म पुग्ने गरेको छन् ।स्याउ र ओखरका बिरुवा मुगु र कालिकोटबाट पनि किन्न आउने किसानको सङ्ख्या बढेको उहाँ बताउनुहुन्छ । माअनुसार आपूर्ति गर्न नसकेको बताउँदै उहाँले राज्यबाट प्राप्त अनुदानले साना किसानलाई उद्यमशील बन्न प्रेरित गरेको अनुभव सुनाउनुभयो ।