युएईमा जारी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने खेलमा अफगानिस्तानसाग नेपालले टस हारेको छ । दुवईको सारजाह क्रिकेट रङ्गशालामा भएको टसमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ रोजेको हो । प्रतियोगिताबाट बहिरिसकेका दुवै टोली पहिलो जितको खोजीमा छन् । नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।
अफगानिस्तान पहिलो खेलमा बङ्गलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलङ्कासँग एक सय ३१ रनले पराजित भएको थियो । एसिसीको आयोजनामा जारी प्रतियोगितामा एसियाका आठ देश सहभागी छन् । प्रतियोगितामा एसियाका पाँच टेस्ट राष्ट्र स्वतः छनोट भएका थिए । नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष तीनमा रहेर छनोट भएका थिए । समूह ‘बी’ मा नेपाल श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् भने समूह ‘ए’मा भारत, पाकिस्तान, जापान र युएई छन् ।