१६ वर्षको प्रवासी अनुभव

असार ३०, २०८१ admin
१६ वर्षको प्रवासी अनुभव

वैदेशिक रोजगारीको लागि युएई जानुभन्दा अगाडि शिक्षण, टुरगाइड र चियापत्तीको व्यापार गरेको थिएँ । तर, पारिवारिक आवश्यकता आकाशिंदै जाँदा ती काममा भविष्य देखिनँ । धैर्य र लगनशीलताको अभाव वा उमेरगत प्रभावले होला, जे काम गरे पनि दुई/चार वर्षपछि छाडिदिएँ । नयाँ नयाँ काम र व्यवसाय गर्ने अनि केही वर्षपछि छाड्ने आदत बस्यो । त्यो बेलासम्म नाम जस्तै जीवन तुफानै गतिमा चलेको थियो ।

जीवनमा नयाँ चुनौती, नयाँ बाटो ! अझ भनौं निकास र बहावको खोजीमा थिएँ । नेपालमा बसेर जेनतेन गुजारा चलिरहेको थियो । तर मैले नयाँपन खोजिरहेको थिएँ । ऊ बेला बैंसमा म अलि तुफानै थिएँ, परिवर्तनकारी थिएँ शायद । बुबाआमाको इच्छाविपरीत विदेश जाने निर्णय गरें ।

कोरिया जाने सपना थियो पहिला । तर, सबै सपना साकार हुन्नन् । शायद जीवन भनेकै सफलता र असफलताको दोहोरी हो । श्रीमती शोभालाई पनि आफ्नो श्रीमान् परदेश जाओस् भन्ने त थिएन तर छोराछोरीको उच्च शिक्षाको लागि विदेशिने मेरो निर्णयलाई समर्थन गरिन् । उनको त्यागलाई म आजीवन सम्मान गर्दछु ।

काठमाडौंमा पढ्दाको मेरो रुममेट जो अहिले इलामको सूर्योदय नगरपालिकाको मेयर हुनुहुन्छ- रणबहादुर (आरबी) राई । उहाँको समन्वय, सल्लाह र सहयोगका आधारमा अन्ततः म १५ जुलाई २००७ का दिन युएई आइपुगेको थिएँ ।