मुलुकको सार्वजनिक व्यवस्थापनमा राजनीति र प्रशासन दुवै महत्वपूर्ण अवयव हुन्। राजनीति जनमतका माध्यमबाट शासनमा स्थापित हुन्छ भने प्रशासन प्रतिस्पर्धात्मक परीक्षा प्रणालीबाट। राजनीति मूलत: विधि निर्माण तथा नीति निर्माणमा संलग्न हुने हो, प्रशासन चाहिं तर्जुमा गरेका विधि र नीतिको कार्यान्वयनमा क्रियाशील हुनुपर्दछ। तर व्यावहारिक रूपमा राजनीति पनि नीति कार्यान्वयनबाट निरपेक्ष बस्न सक्दैन किनकि शासनको प्रभावकारिता यसैमा देखिन्छ।
प्रशासनले पनि नीति निर्माण प्रक्रियामा सहभागी हुनै पर्दछ किनकि नीति निर्माणमा प्रशासनिक विज्ञता आवश्यक हुन्छ। जे भए पनि शासनलाई नागरिकमुखी तथा परिणाममूलक बनाउन दुवै क्षेत्रले साझा प्रयास गर्नुपर्ने हुन्छ। आपसी सम्बन्ध र सहकार्यबाट नै राजनीति र प्रशासन दुवैले सक्षमता एवम् सफलता हासिल गर्न सक्दछन् भन्ने मान्यता रहेको छ। तर नेपालको परिदृश्य भने अलिक फरक छ।