विदेशी सम्बन्धन प्राप्त कलेजहरू राज्यलाई चुनौती दिँदै नेपाली विद्यार्थी पढाउँदै

असार ३०, २०८१ admin
विदेशी सम्बन्धन प्राप्त कलेजहरू राज्यलाई चुनौती दिँदै नेपाली विद्यार्थी पढाउँदै

विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाहरूबाट सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न ‘विदेशी शिक्षण संस्थाको सम्बन्धमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९’ छ । तर शिक्षण संस्थाहरू उक्त निर्देशिका विपरित सञ्चालनमा रहेको पाइएको हो ।

निर्देशिकाले विश्वका एक हजार वरीयताभित्र पर्ने विश्वविद्यालयबाट मात्रै सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाइन्छ । निर्देशिकाको परिच्छेद २ मा अनुमति सम्बन्धी व्यवस्था छ, जसमा विदेशी शिक्षण संस्थाबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम गर्न चाहनेले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुमति लिएरमात्रै सञ्चालन गर्न पाउने व्यवस्था छ ।
उनीहरूले पाँच लाख रूपैयाँ राजस्व बुझाएर एक पटकमा बढीमा दुई कार्यक्रमका लागि आवेदन दिन पाउने व्यवस्था छ । त्यस्ता संस्थाले सम्बन्धन लिने विश्वविद्यालय वा शिक्षण संस्था विदेशमा कानुनतः सम्बन्धन विस्तार गर्न सक्ने अधिकार प्राप्त गरेको हुनुपर्ने छ ।