अमेरिकी सहायक विदेशमन्त्री लु यसैसाता औपचारिक भ्रमणमा आउँदै
मंसिर १८, २०८१
admin
अमेरिकी सहायक विदेशमन्त्री लु यसैसाता औपचारिक भ्रमणमा आउँदै
वासिङ्टन, डिसी , (अमेरिका ) १८ मङ्सिरः
अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले यसैसाता नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार आजदेखि उहाँ दक्षिण एसियाली मुलुकहरूको भ्रमणमा जानुहुने छ । सहायक विदेशमन्त्री डोनाल्ड पहिले श्रीलङ्का, त्यहाँबाट भारत र त्यसपछि नेपालको भ्रमणमा जानुहुनेछ ।
उहाँको दक्षिण एसिया भ्रमण नेपालबाट समापन हुनेछ । नेपाल भ्रमणका क्रममा उहाँले शीर्ष नेतृत्वसँग पर्यावरण संरक्षण, महिला सशक्तीकरण र दिगो विकासका साथै नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे युवा नेतासँग छलफल गर्नुहुनेछ । पर्यटन तथा अर्थतन्त्रका मेरुदण्ड मानिएका नेपालका सांस्कृतिक सम्पदाको संरक्षणलगायत विषयमा पनि सहायक विदेशमन्त्रीले छलफल गर्ने विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।