पूर्वराज्यमन्त्री रायको हत्या, प्रहरी सुराकविहीन

साउन ८, २०८१ admin
पूर्वराज्यमन्त्री रायको हत्या, प्रहरी सुराकविहीन

टाउकामा धारिलो हतियार प्रयोग गरिएको र रगतले लतपतिएको अवस्थामा ‘फार्म हाउस’मा शव फेला

सर्लाही, रौतहट — पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको सर्लाही चन्द्रनगर गाउँपालिका–१ रतनपुरमा हत्या भएको छ । मलंगवा नगरपालिका–४ घर भएका रायको रतनपुरस्थित ‘फार्म हाउस’मा रहेका बेला आइतबार राति हत्या भएको हो ।

 

 

२०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य तथा २०५६ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित राय तत्कालीन शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारमा भूमिसुधार राज्यमन्त्री भएका थिए । उनी पञ्चायत नीति तथा जाँचबुझ समितिका सदस्य पनि थिए । २०४६ मा राप्रपा स्थापना हुँदा सूर्यबहादुर थापा समूहमा रहेका राय २०४९ मा राप्रपा (लोकेन्द्रबहादुर चन्द) र राप्रपा (सूर्यबहादुर थापा समूह) एकीकृत भई बनेको राप्रपामा उपाध्यक्ष रहेका थिए ।

परिवारसहित काठमाडौंमा बस्दै आएका राय गत साता मात्र खेती गर्न सर्लाही आएका थिए । रायको हत्यापछि रतनपुर क्षेत्रका बासिन्दा त्रसित छन् । राय राप्रपाभित्र गणतन्त्र र परिवर्तनका ‘एजेन्डा’ उठाउने नेतामध्येका एक थिए । मधेशका समस्या सम्बोधन हुनुपर्छ र राप्रपाले परिवर्तनको ‘एजेन्डा’लाई आत्मसात् गर्नुपर्छ भन्ने खेमामा लागेर पार्टीभित्रै गणतन्त्रको विषय प्रवेश गराउनेमध्येका पनि एक थिए ।

एक समय राप्रपा छाडेर मधेश राजनीतिमा गएका उनी पछि राप्रपामै फर्किएका थिए । २०६२/६३ को जनआन्दोलनपछि मधेशमा संघीयतासहितको ‘एजेन्डा’ लिएर क्षेत्रीय दलहरू खुल्नेक्रम चलिरहेका बेला कांग्रेस, एमाले र राप्रपाका नेताहरू पार्टी परित्याग गरी मधेशको राजनीतिमा सक्रिय भएका थिए । त्यही क्रममा २०६४ पुसमा महन्थ ठाकुरको नेतृत्वमा नयाँ राजनीतिक दल तराई मधेश लोकतान्त्रिक पार्टी गठन हुँदा राप्रपाबाट सर्वेन्द्रनाथ शुक्ल र रायसहितका नेता सामेल भएका थिए ।

मलंगवा नगरपालिका–४ घर भएका ८० वर्षीय राय धानबाली लगाउन एक सातादेखि रतनपुरस्थित आफ्नै ‘फार्म हाउस’मा बसेका थिए । घरको काम सघाउन सहयोगीका रूपमा यादवले विलासी नगरपालिका–३ मदनपुरका २१ वर्षीय रामउजैन राय यादवलाई सँगै राखेका थिए । आइतबार साँझ करिब ६ बजे सदरमुकाम मलंगवास्थित घरबाट उनी रतनपुर ‘फार्म हाउस’ आएका थिए ।

रतनपुरका पूर्वगाविस अध्यक्ष सत्यनारायण राय यादवका अनुसार साँझ साढे ७ बजेतिर रतनपुरकै इन्दल ठाकुरको घरमा पितृश्राद्घ प्रसाद खाएर घर फर्केका थिए । राप्रपाबाट सँगै राजनीति गरेका यादव पूर्वमन्त्री राय सर्लाही आउँदा रतनपुरमा अधिकांश समय सँगै बिताउँथे । उनीहरू दुवै आइतबार ठाकुरको घरमा सँगै पितृ प्रसाद खाएर फर्केका थिए ।

आइतबार राति करिब साढे ९ बजे यादवको घरमा अरू तीन जना आएको भनिए पनि उनीहरू को थिए भन्ने खुल्न सकेको छैन । हाल प्रहरी निगरानीमा रहेका रायको घरमा बस्ने रामउजैनले प्रहरीलाई बताएअनुसार घरमा आएका तीन जनाले ‘हाम्रो जग्गाको विवाद कहिले मिलाइदिने ?’ भन्दै कुराकानी गरेका थिए । यो विषयमा केहीबेरसम्म छलफल भएको रामउजैनले बताएका छन् । तीनै जनालाई आफूले नचिनेको जिकिर रामउजैनको छ ।

नातामा मृतक राय रामउजैनका हजुरबुवा पर्छन् । ‘हजुरबुवाले तिमी छतमाथि सुत्न जाऊ भनेर पठाए पछि म सुत्न गएको थिएँ, त्यसपछि के भयो मलाई थाहा छैन’ भनी उनले प्रहरीलाई बताएका छन् । रायको घरमा काम गर्ने ती युवकलाई पनि शंकाको घेरामा राखेर अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ । घरमा पाहुना आउँदा आफू छतमा नै सुत्ने गरेको रामउजैनले बताएका छन् ।

राति १२ बजेतिर पिसाब फेर्न तल झरेका बेला ढोका खुला रहेको र ओछ्यान छेउमा राय यादव रगतले लतपतिएर लडेको अवस्थामा देखेपछि आफन्तलाई जानकारी गराएको उनको भनाइ छ ।

रायको घरमा आएका तीनै जना फरार छन् । गाउँमा रायको हत्या भएको थाहा पाएपछि स्थानीयले नै प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी प्रमुख एसपी रवीन्द्रबहादुर सिंह आफैं घटनास्थल पुगेका थिए । उनले राति नै प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिमप्राप्त कुकुर मगाएर घटनास्थल लगेका थिए । कुकुरले उखु काट्न प्रयोग हुने घरेलु हतियार (ग्रासी) नजिकको बाँसघारीबाट फेला पारेको थियो । त्यस क्षेत्रभन्दा अगाडि कुकुर बढ्न सकेन । घटनास्थलबाट उत्तरपश्चिमतर्फे करिब ५० मिटर टाढा रहेको बाँसको झाङमा हतियार भेटिएको हो । रगतले लतपतिएको अवस्थामा बाँसको झाङमा हतियार भेटिएकाले हत्यामा प्रयोग भएको प्रहरीको आशंका छ ।