नेपालले दियो क्यानडालाई एक सय ८२ रनको लक्ष्य

अशोज ७, २०८१ admin
नेपालले दियो क्यानडालाई एक सय ८२ रनको लक्ष्य

काठमाडौँ, ७ असोज : आइसिसी एक दिवसीय विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आजको खेलमा नेपालले क्यानडालाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएको छ । क्यानडाको किङ सिटीमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनायो । नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४९ रनको योगदान दिए ।

उनले ४८ बलमा पाँच चौका र एक छक्काको सहयोगमा ४९ रनको योगदान गरेका हुन । सन्दीपको एकदिवसीय करियरको यो उत्कृष्ट ब्याटिङ हो । यस अघि उनले सन् २०२३ मा पपुवा न्यूगिनीसँगको खेलमा ५० बलमा अविजित ३५ रन बनाएका थिए । त्यसैगरी गुल्सन झाले ५६ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ३४ रन बनाए । करण केसीले २४ रन बनाउँदा सोमपाल कामीले २१ रन जोडे ।

यसैगरी अर्जुन साउद र आरिफ शेखले समान १०–१० रन बनाए भने भिम सार्की र कप्तान रोहित पौडेलले समान चार–चार रन बनाए । बलिङतर्फ क्यानडाका कालीम सानाले तीन विकेट लिए भने हरर्ष ठाकेर र दिलोन ह्यालिगरले समान दुई दुई विकेट लिए । त्यसैगरी प्रभिन कुमार र साद विन जफरले समान एक एक विकेट लिए ।