अरिङ्गालले टोकेर चारजना घाइते

अशोज १०, २०८१ admin
अरिङ्गालले टोकेर चारजना घाइते

लमजुङ, १० असोजः जिल्लाको बेँसीसहर नगरपालिका–३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिङ्गालले टोकेर चारजना विद्यार्थी घाइते भएका छन् । आज बिहान विद्यालय जाने क्रममा डमफुहाउस नजिककै अरिङ्गालले टोकेर उनीहरु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठका अनुसार बेँसीसहर–५ बाख्रेगजतका १३ वर्षीय रीना गुरुङ, १२ वर्षीय अर्जना तामाङ, १३ वर्षीय सङ्गीता तामाङ र १० वर्षीय करुणा गुरुङ घाइते भएका छन् ।

घरबाट विद्यालय जाँदै गर्दा बाटोमा अचानक आएको अरिङ्गालले उनीहरुको टाउको, छातीलगायत शरीरका विभिन्न भागमा टोकेको उहाँले बताउनुभयो । घाइते सबैको उद्धार गरी लमजुङ अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । घरबाट विद्यालयसम्म आउँदा जङ्गलको बाटो पर्ने प्रहरीले जनाएको छ ।