प्रविधिमैत्री बन्यो गुरुङ जातिको खेमा लिपि

भदौ २८, २०८१ admin
प्रविधिमैत्री बन्यो गुरुङ जातिको खेमा लिपि

मुग्लिन (चितवन), २८ भदौः तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् गुरूङ जातिको आधिकारिक लिपि ‘खेमा लिपि’लाई प्रविधिमैत्री बनाउन सफल भएको छ । यही १० सेप्टेम्बर २०२४ देखि खेमा लिपिको युनिकोड प्राप्त गरेको ह्युल छोंज धींले जनाएको छ । खेमा लिपिलाई कम्प्युटरका माध्यमबाट लेख्न सहज हुनेगरी युनिकोडमा प्राप्त गरेपछि तमू ह्युल छोंज धींको केन्द्रसहितका जिल्ला समितिले खुसी व्यक्त गरेका छन् । केन्द्रीय समितिका अध्यक्ष कर्णबहादुर गुरुङ र महासचिव डम्बरबहादुर गुरुङले विज्ञप्तिमार्फत खेमा लिपिलाई प्रविधिमैत्री बनाउन सफल भएको भन्दै खुसी व्यक्त गर्नुभएको छ । तमू ह्युल छोंज धीं जिल्ला कार्यसमिति चितवनले पनि देशभरका तमू समुदायका लागि एउटा महत्त्वपूर्ण सफलता प्राप्त गरेको बताएको छ ।

बिहीबार चितवन जिल्ला अध्यक्ष विमलादेवी गुरूङको अध्यक्षतामा बसेको बैठकले लामो समयसम्मको प्रयास र सङ्घर्षपछि प्राप्त उपलब्धिले देशभरका गुरुङ जातिमा खुसी छाएको निर्णय गरेको छ । ह्युल छोंज धींका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरुङका अनुसार २०५२ सालमा तत्कालीन अवस्थामा तमू छोंज धींको काठमाडौँमा भएको प्रथम सम्मेलन र तमू ह्युल छोंज धीं केन्द्रीय समितिको रूपन्देहीमा भएको केन्द्रीय पार्षद् सभाबाट खेमा लिपिलाई गुरुङ जातिको आधिकारिक लिपिका रूपमा सर्वसम्मत रूपमा पारित गरेको थियो ।