
बाढी प्रभावित क्षेत्रमा फेरि खुले क्रसर
२०८१ फागुन ५ गते
विद्यालय भवनको आडैमा ढुंगा, गिट्टी उत्खनन् गर्ने क्रसर चलिरहेको छ, भित्र कक्षाकोठामा पढाइ भइरहेको हुन्छ । क्रसरको चर्को आवाजले शिक्षकले पढाएको न विद्यार्थीले राम्रोसँग सुन्न सक्छन् न विद्यार्थी भनेको शिक्षकले नै बुझ्न सक्छन्।
बेथानचोक गाउँपालिका–४ स्थित चलाल गणेशस्थानमा रहेको गणेश आधारभूत विद्यालयको पछाडिपट्टि रहेको चलाल गणेशस्थान खनिज उद्योग प्रालिमा भइरहेको उत्खनन्को कामले विद्यालयको पढाइ प्रभावित भएको हो ।
कक्षामा पढाइ भइरहेको बेला खानीमा उत्खनन्को काम भइरहँदा पठनपाठनमा असहज हुने कक्षा ७ मा अध्ययनरत करण मगरले बताए । ‘खानीमा ब्रेकर लगाएको बेला त पढाएको कुरा केही सुनिदैन,’ उनले भने, ‘खानीबाट आएको धुलोले स्कुल छपक्कै छोप्छ, पढ्न साह्रै असहज भएको छ ।’कक्षा ७ अध्ययनरत पार्वती तामाङ खानी पुनः सञ्चालन भएपछि पढाइमा कठिनाई भएको बताउँछिन् । उनका अनुसार खानीमा ब्रेकर चलाएका बेलाको आवाजले कसैले बोलेको नबुझिने र एकाग्र भएर पढ्न नसकिने बताइन् । पढाइ भइरहेको बेलामा खानी सञ्चालन हुदाँ बालविकास तहमा अध्ययन गर्ने बालबालिकाको मनोविज्ञानमा असर पर्ने एक शिक्षिकाले बताइन् ।
‘खानीमा ब्रेकर चलाएका बेला जमीन नै थर्किन्छ । त्यसले गर्दा बालबालिका तर्सिन्छन् । खानीबाट निस्कने धुलोले विद्यार्थीको स्वास्थ्यमा पनि असर पर्ने जोखिम छ,’ ती शिक्षिकाले भनिन् । खानी आसपास रहेको विद्यालयसँगै स्थानीय समुदायलाई बस्ती जोखिममा पर्ने चिन्ता छ ।
‘घरको सामुन्नेनै उत्खनन् भइरहेको छ,’ स्थानीय नक्सलमाया तामाङले भनिन्, ‘उत्खनन् गर्दागर्दै ढिस्कोले घर नै पुर्ने डर छ ।’ अनुमति लिएर सञ्चालन गरेको भए पनि बस्ती नै जोखिममा राखेर उत्खनन् गर्दा भविष्यमा ठूलो क्षति हुने चिन्ता लिलाबहादुर लामालाई छ । बस्तीमाझ सञ्चालित खानी तथा क्रसर उद्योगका कारण आफूहरु सधैं त्रासमा बस्नुपरेको बेथानचोक–४ चलाल गणेशस्थानकी ५४ वर्षीया कुन्तीदेवी दोङले बताइन् ।
स्थानीय ७१ वर्षीय एक बृद्ध पनि खानी र उद्योगका कारण स्थानीयलाई सधैं सास्ती भएको बताउँछन् । ‘स्कुल, स्वास्थ्य चौकी, बस्ती नजिकै खानी र क्रसर चलाइएको छ,’ उनले भने, ‘यहाँबाट निस्कने धुलोले स्थानीयले आजित भएका छन्, यसको सञ्चालनको लागि मापदण्ड के–कस्तो छ हामीलाई थाहा छैन, तर बस्ती माझ सञ्चालन हुदाँ भने हामीलाई समस्या भएको छ ।’
गत असोज दोसो साताको बाढीपहिरोले व्यापक मानवीय तथा भौतिक क्षति पुगेर अति प्रभावित सूचीमा रहेका पालिकामा फेरि मापदण्ड विपरीत खानी र क्रसर उद्योग सञ्चालनमा आएका छन् । बाढीपहिरोको जोखिम कायमै भएकाले काभ्रेका पाँच वटा स्थानीय तहलाई सरकारले अति प्रभावित घोषणा समेत गरेको छ । जिल्ला अनुगमन समितिको निर्देशन विपरीत मापदण्ड पालना नगरेरै खानी र क्रसर उद्योग सञ्चालनमा आएका हुन् ।
माघ ९ को जिल्ला अनुगमन समिति बैठकले काभ्रेका विभिन्न नदी तथा खानीजन्य क्रसर उद्योग र भौगोलिक विषमता नै बाढीपहिरोको मुख्यकारण रहेको निष्कर्ष निकाल्दै यस्ता उद्योगको नियमनका लागि कानूनी व्यवस्थाको पालना गराउन सम्बन्धित पक्षलाई अनुरोध गर्ने निर्णय गरेको थियो । तर, जिल्ला अनुमगन समितिको निर्णय विपरीत विभिन्न पालिकामा खानी र क्रसर उद्योग सञ्चालन भइरहेका छन् ।
विपद्बाट अति–प्रभावितमध्ये बेथानचोक गाउँपालिकामा अहिले तीन वटा खानी र क्रसर उद्योग सञ्चालनमा छन् । तीन वटै उद्योगलाई प्रक्रिया अनुरुप सञ्चालन अनुमति दिइएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए । उनका अनुसार ३ वटै खानी र क्रसर उद्योगले कानुनी रुपमा दर्ता भएको, खानी विभागबाट अनुमति प्राप्त, नवीकरण गरेकोलगायत सबै प्रक्रिया पूरा गरेकाले सञ्चालनका लागि अनुमति दिइएको हो ।
त्यस्तै, अतिप्रभावित पनौती नगरपालिकाको सूचीमा रहेका ११ वटा खानी र ५ वटा क्रसर उद्योगमध्ये गत असोजको विपद्पछि ७ खानी र ५ क्रसर उद्योग सञ्चालनमा रहेको नगरपालिकाले जनाएको छ । पनौती नगरपालिकाले हाल सञ्चालन गरेको खानी र क्रसर उद्योग कुनै पनि अवैध नरहेको पनौती नगर उपप्रमुख गीता बञ्जाराले बताइन् । उनले सबै प्रक्रिया पूरा गरेका उद्योग मात्रै अहिले सञ्चालनमा रहेको दाबी गरिन् ।
अतिप्रतिभावित पालिकाको सूचीमा रहेको रोशीमा विपद्पछि एउटा क्रसर सञ्चालनमा रहेको गाउँपालिकाले जनाएको छ । पालिकाको सूचीमा रहेका १३ क्रसर उद्योगमध्ये १२ वटा उद्योग पूर्ण रुपमा क्षति भएका थिए । सामान्य क्षति भएको एउटा उद्योगमा मर्मत गरेर पुनःसञ्चालनमा ल्याएको गाउँपालिकाले जानकारी दिएको छ । नमोबुद्ध नगरपालिकामा रहेका ४ वटा खानी र क्रसर उद्योगमध्ये विपद्बाट ३ वटा खानी र क्रसर पूर्णरुपमा क्षति पुगेको नगरपालिकाले जनाएको छ ।
एउटा उद्योगको समय अवधि सकिएर हाल सञ्चालनमा नरहेको नगरपालिकाले जानकारी दिएको छ । त्यस्तै, तेमाल गाउँपालिकामा एक क्रसर र दुई खानी उद्योगमध्ये विपद्पछि एउटा क्रसर सञ्चालनको तयारीमा रहेको गाउँपालिकाले जनाएको छ । २ वटा खानी उद्योग भने हाल बन्द छन् ।
मण्डनदेउपुर नगरपालिकाको सूचीमा रहेको १ खानी र ८ वटा क्रसर उद्योगमध्ये विपदपछि ३ क्रसर उद्योग सञ्चालन भइरहेका छन् । नगरपालिकाका अनुसार बाँकी ५ क्रसर उद्योग हाल सञ्चालनमा नरहेको विवरणमा उल्लेख छ । भुम्लु गाउँपालिकाको सूचीमा रहेका ५ क्रसर र ७ खानी उद्योगमध्ये हाल ४ क्रसर र ७ खानी सञ्चालनमा रहेको गाउँपालिकाले जनाएको छ ।
नदीजन्य तथा खानीजन्य उद्योगको जिल्ला स्तरीय अनुगमन कार्यदलले स्थलगत अनुगमन गरी तयार गरेको प्रतिवदेन २०७९ मा खानी तथा क्रसर उद्योग मापदण्ड अनुरुप सञ्चालनमा नरहेको उल्लेख छ । समितिले यस्ता उद्योगलाई सुधारका लागि सुझाव दिँदै स्थानीय तहलाई नियमित रुपमा अनुगमन तथा नियमन गर्न निर्देशन दिएको थियो । तर, स्थानीय तहले पनि उक्त निर्देशनको पालना भने गरेको देखिँदैन ।
मापदण्ड अनुरुप खानी तथा क्रसर उद्योग सञ्चालनका लागि सम्बन्धित उद्योगीलाई पटक–पटक जानकारी गराइएको र यस विषयमा नियमन गर्नको लागि स्थानीय तहलाई निर्देशन दिइएको जिल्ला समन्वय समिति प्रमुख एवं जिल्ला अनुगमन समिति संयोजक दिपककुमार गौतमले बताए ।
उनका अनुसार हाल सञ्चालनमा रहेका खानी र क्रसर उद्योगले मापदण्ड पालना नगरेको पाइएकाले समितिले पुनः अनुगमनको काम गरिरहेको छ । खानी र क्रसर उद्योगलाई मापदण्ड पालना गर्न अनुरोध गर्नुका साथै अटेर गरी सञ्चालन भइरहेकालाई कार्वाही गराउन कार्यालयले जिल्ला प्रहरी, स्थानीय तह र सम्बन्धित निकायलाई पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।