भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित

मंसिर ३०, २०८१ admin
भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित

तुलसीपुर, ३० मङ्सिर :

दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित खुमखानीमा भालुले बाख्रा खान थालेपछि किसान चिन्तित भएका छन् । राति बाख्रा खोरमा पसेर बाख्रा मारिदिने र खाइदिने गरेको किसानले बताएका छन् । त्यहाँ अहिलेसम्म पाँच घरका २१ बाख्रा मारिदिएको स्थानीयले बताएका छन् । स्थानीय निर्मला थापाका सात वटा, थम्मन विकका पाँच वटा, विकास घर्तीका पाँच र पोकबहादुर थापाका चार वटा बाख्रा मारिदिएको छ ।

भालुले बाख्रा खोर भत्काउन थालेपछि खाना खाने कोठामा बाख्रालाई राख्ने गरिएको स्थानीय पोकबहादुर थापाले बताउनुभयो । “हामीले पालेका बाख्रा भालुले खोरमा गएर मारिदिने गरेको छ”, उहाँले भन्नुभयो, “अहिले त हामीले खाना बनाउने कोठामा बाख्रा राख्ने गरेका छौँ ।” खुमखानी सोही वडाको विकट क्षेत्र हो । त्यहाँ प्रहरी पोष्ट नहुँदा पनि यसरी असुरक्षित हुनु परेको उहाँको भनाइ छ ।

विगत एक महिनायता भालुले यसरी सताउने गरेको हो । अहिले बाख्रालाई मार्ने गरेको भए पनि मानिसलाई पनि क्षति हुनसक्ने भन्दै यसमा सचेत हुनुपर्ने स्थानीय अगुवा जीतबहादुर थापाले बताउनुभयो ।