‘डब्लुटीएम’मा नेपालद्वारा विश्व पर्यटन उद्योगकको ध्यानाकर्षण
काठमाडौँ, २३ कात्तिकः
विश्व प्रख्यात पर्यटन मेला ‘वल्र्ड ट्राभल मार्केट–२०२४’ (डब्लुटीएम) मा नेपालले सहभागिता जनाउँदै विश्व पर्यटन उद्योगको ध्यानाकर्षण गरेको छ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले लन्डनमा आयोजित डब्लुटीएममा सहभागिता जनाएको हो । यही कात्तिक २० देखि २२ गतेसम्म आयोजना भएको वल्र्ड ट्राभल मार्केटमा नेपालले साहसिक यात्रा, सांस्कृतिक विविधता र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यका रूपमा आफ्नो उपस्थिति जनाउँदै नेपालको पर्यटन प्रवर्द्धनका लागि समन्वय गर्न विश्वपर्यटन उद्योगको ध्यानाकर्षण गरेको हो ।
बोर्डले आफ्नो ४० वर्षको सहभागिता वर्षको उत्सव मनाउँदै विश्व पर्यटन क्षेत्रमा लामो समयदेखिको योगदानलाई निरन्तरता दिएको हो । एक सय ८४ देशहरूबाट ४३ हजार सहभागी रहेको डब्लुटीएममा तीन हजार आठ सय ७५ प्रदर्शकहरू सहभागी थिए । मेलामा ८२ वटा सम्मेलन सत्र आयोजना गरिएको थियो । हालै लोन्ली प्लानेटद्वारा सन् २०२४ का लागि बेस्ट इन ट्राभल गन्तव्यका रूपमा घोषित भएपछि यस वर्ष डब्लुटीएममा नेपालको उपस्थिति थप महत्वपूर्ण बनेको बोर्डले जनाएको छ ।
यसले विश्वभरका यात्रुहरू र पर्यटन व्यवसायीसामु नेपालको सम्पदालाई प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनुभयो । वल्र्ड ट्राभल मार्केटमा नेपालको सहभागिताले नेपाललाई उच्च सम्भावनायुक्त बजारसँग प्रत्यक्ष संलग्न हुन सघाउने र यसले नेपाललाई शीर्ष अन्तर्राष्ट्रिय गन्तव्यहरूको साथ उभ्याउने उहाँले उल्लेख गर्नुभयो । उहाँले नेपालको यो सहभागिताले नयाँ व्यावसायिक अवसर विकास गर्दै हाम्रो समृद्ध संस्कृति, अनुपम प्राकृतिक दृश्य र पर्यावरणमैत्री पर्यटनमा रुचि राख्ने वातावरणीय सजग यात्रुहरूसँग सम्बन्ध स्थापित गर्ने अवसर प्रदान गर्ने बताउनुभयो ।
“लोन्ली प्लानेटले नेपाललाई बेस्ट इन ट्राभल गन्तव्यका रूपमा सम्मानित गरेको छ । लोन्ली प्लानेटको यो मान्यताले नेपालको पर्यटन सेवाहरूलाई थप विश्वसनीयता प्रदान गरेको छ । यो सहभागिताले मुलुकका अनुपम परिदृश्यहरू प्रख्यात हिमालदेखि प्राचीन सांस्कृतिक स्थललाई समेटेको छ”, जोशीले भन्नुभयो । नेपाल विश्वका लागि आकर्षक पर्यटकीय गन्तव्यका रूपमा रहेको सन्दर्भमा नेपाललाई साहसिक यात्रा, अध्यात्म र सम्पदाको संयोजनको गन्तव्यका रूपमा थप परिचित र बलियो बनाउने कार्यमा यो मेलाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको उहाँले बताउनुभयो । नेपालबाट डब्लुटीएमा विभिन्न क्षेत्रका पर्यटन व्यवसायी, ट्राभल कम्पनी, होटल, रिसोर्टका प्रतिनिधिहरूको सहभागिता थियो ।