नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले जिल्लामा ‘सयदिने अभियान’सुरु गरेको छ । अभियानअन्तर्गत जिल्ला समितिले ‘सदस्यता घर–आँगन’ कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ । पार्टी सङ्गठन निर्माणमा बुधबारदेखि जिल्ला समितिद्वारा १३ वटै स्थानीय तहका एक सय ३५ वटै वडामा नेता– कार्यकर्ता खटेका हुन् ।
अभियानका क्रममा मृत्यु, राजीनामा, विदेश, पार्टी परित्यागका कारण रिक्त रहेको सभापतिबाहेकको पदमा केन्द्र र जिल्लाको परिपत्रअनुसार पदपूर्तिको व्यवस्था गरिने जनाइएको छ । पार्टी विधानबमोजिम तोकिएको सदस्यतासम्बन्धी काम गर्ने, गराउने र सदस्यता विशेष अभियानको रुपमा ‘सदस्यता घर आँगन’ अभियान सञ्चालनलाई प्राथमिकता दिइएको जिल्ला समितिले जनाएको छ ।
यसैगरी पालिका–काठमाडौँ सम्पर्क समिति गठन नभएका स्थानीय तहमा उक्त समिति गठन पनि गरिने जनाइएको छ । अभियानकै क्रममा पार्टी र जनप्रतिनिधिको बीचमा संयन्त्र गठन गरिने भएको छ ।