कुपोषित बालबालिकालाई स्वस्थ बनाउँदै रुम्जाटार अस्पताल
ओखलढुङ्गा, ९ मङ्सिर :
ओखलढुङ्गा जिल्ला अस्पताल रुम्जाटारले कुपोषणबाट ग्रसित दुई सय ५६ बालबालिकालाई स्वस्थ बनाएको छ । कुपोषित बालबालिकाको उपचार एवं स्याहारसुसारका लागि आवासीय पोषण पुनःस्थापना गृह स्थापना गरी अस्पतालले कुपोषित बालबालिकालाई स्वस्थ बनाएको हो । जिल्ला अस्पतालअन्तर्गत सञ्चालित पोषण पुनःस्थापना गृहबाट आर्थिक वर्ष २०७७÷७८ देखि हालसम्म दुई सय ५६ बालबालिकालाई पोषणयुक्त खाना र आवश्यक औषधोपचार तथा स्याहार सेवा दिइएको छ ।
बालबालिकालाई कुपोषणका कारण हुने बौद्धिक तथा शारीरिक अपाङ्गताबाट बचाउन तथा कडा रोग लाग्नबाट जोगाउन पोषण पुनःस्थापना गृह सञ्चालन गरी सेवा प्रदान गर्दैआएको अस्पताल प्रमुख डा साजन दुवालले बताउनुभयो । स्वस्थ जीवनका लागि आवश्यक पोषणको महत्वसँगै कुपोषणका कारण हुनसक्ने मानव विकासको क्षतिबारे पनि नागरिकलाई जानकारी दिने गरेको डा दुवाल बताउनुहुन्छ । “कुपोषित बालबालिकालाई स्वस्थ बनाउन, कुपोषण हुन नदिन चेतना फैलाउने काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “सामान्य हेलचेक्रयाँइ र समस्याबाट सुरु हुने कुपोषण दीर्घकालीन समस्या बन्ने तथा मानव जीवन नै समाप्त बनाउनेसम्मको घातक रोग भएकाले यसतर्फ ध्यान दिन जरुरी छ ।”
बालबालिकामा कुपोषणको समस्या देखिए बेलैमा उपचार गराउन अभिभावकलाई डा दुवालको सुझाव छ । आवासीय पोषण पुनःस्थापना गृहमा कुपोषणले ग्रस्त भएका जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई राखेर आवश्यक निःशुल्क स्वास्थ्योपचारका साथै सन्तुलित आहारको व्यवस्था मिलाइएको छ । बालबालिकाको कुपोषणको उपचार तथा व्यवस्थापन, बालबालिकाको उचाइ र उमेरअनुसारको तौल पुर्याउन आवश्यक उपचारात्मक कार्य गर्न, बालबालिकाको हेरचाह गर्ने अभिभावकलाई समेत पोषणसम्बन्धी ज्ञान तथा सीप प्रदान गर्ने गरिन्छ ।
“यहाँ ओखलढुङ्गासहित छिमेकी जिल्ला खोटाङ, सोलुखुम्बुलगायत जिल्लाका नागरिक सेवा लिने आउने गरेका छन्”, डा दुवालले भन्नुभयो । पोषण पुनःस्थापना गृहमा कुपोषित बालबालिकाको हेरचाहका लागि उनीहरुका एक अभिभावकलाई राख्ने व्यवस्था छ । यहाँ राखिएका कुपोषित बालबालिकालाई उनीहरुको अवस्था हेरेर दैनिक आठदेखि १२ पटकसम्म आहारा खुवाउने गरिएको छ । केन्द्रबाट आव २०७७/७८ मा ३६, आव २०७८/७९ मा ७४, आव २०७९/८० मा ८२ र आव २०८०/८१ मा ५२ बालबालिकालाई सेवा प्रदान गरिएको थियो । चालु आव २०८१/८२ को चार महिनामा १२ बालबालिकाले सेवा लिएको अस्पतालले जनाएको छ ।